Hamro Sanchar

‘मालिक’को दबाब सहन नसकेर कुवेतमा नेपाली चेलीद्वारा आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २५ गते


Advertisement

काठमाडौं, जेठ २५- करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् ।

उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले बागचौर नगरपालिका कार्यालयमा छोरीको शव नेपाल झिकाउन माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले पनि कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन अनुरोध गरेको थियो ।

वडाको पत्र प्राप्त हुने बित्तिकै दूतावासले कानुनी प्रक्रिया पूरा गरेर शव बिहीबार बेलुका नेपाल पठाएको छ । कुवेत पुगेपछि घर मालिकको दबाब सहन नसकेर ‘डिप्रेसन’को औषधि सेवन गरिरहेका बेला उनले आत्महत्या गरेको बताइएको छ । पछिल्लो समय अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत आउने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका त्यहाँ कार्यरत घनश्याम थापामगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको थापाको भनाइ छ ।

कुवेतमा घरेलु महिला कामदारको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल नेपालबाट अवैध बाटो हुँदै कुवेत आउनेहरूलाई रोक्नुपर्ने थापाले बताए । यसरी नरोके धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

‘हामी पनि एउटा कुनै कम्पनीमा कार्यरत कामदार हौं, कति जनालाई उद्धार गर्न सक्छौं र ?’ उनले भने, ‘दैनिक रूपमा उद्धार गर्नु पर्यो भनेर कल र म्यासेज आउँछ कतिलाई सहयोग गर्छौं, कतिलाई भागेर नेपाली दूतावास जानू भन्छौं, हरेक दिन कोही न कोही भागेर दूतावास नगएको दिन नै हुँदैन, दूतावासमा पनि सीमित कर्मचारी हुँदा समस्या छ, त्यही पनि दूतावासले धेरै सहयोग गरिरहेको छ ।’

कुवेतमा घर मालिकको यातना सहन नसकी प्रत्येक दिन १५/२० जनाको कल आउने र उद्धारमा सहयोग गरिदिन हारगुहार गर्ने गरेको उनले बताए । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर साहूको कुटपिट र यातना सहन नसकेर तत्काल भागेर वा मालिककै घरमा बसेर हारगुहार गर्ने नेपाली महिलाको संख्या ठूलो रहेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् ।

दलालले भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्न‘ परेपछि मात्र आफूलाई फसाएकोबारे थाहा पाउने गर्छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरू आफूलाई पर्ने समस्या र यसबारे कहाँ कसरी सम्पर्क गर्ने केही जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ । राजधानी दैनिकमा खबर छ ।


प्रतिकृया दिनुहोस्