१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ ।
विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९।४ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो । काठमान्डुका डेभिड वार्नरले अविजित ४४ र विलियम बोसिस्टोले २३ रन बनाए ।
यी दुईबीच दोस्रो विकेटका लागि ७९ रनको साझेदारी भयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर १९।३ ओभरमा ८३ रनमै समेटिएको थियो । रुपेश सिंहले सर्वाधिक २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए ।
काठमान्डुका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए भने सहान अराचिगे र जहानदान खानले २–२ विकेट झारे ।
लगातार दोस्रो जित निकालेको काठमान्डु ३ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।
























