१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गर्न आवश्यक नरहेको बताएका छन्।
उनले आफैँ काठमाडौं फर्किएर प्रहरी कार्यालयमा उपस्थित हुने जनाएका हुन्।
पत्रकार रोशन खड्काको उजुरीपछि साइबर ब्युरोले आफूलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि शिवाकोटीले आज बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ। प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु,’ उनले फेसबुकमा लेखेका छन्।
हाल काठमाडौं उपत्यकाबाहिर रहेका शिवाकोटीले आफू कहाँ रहेको भन्ने भने खुलाएका छैनन्।


























