१९ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री सुरु गर्ने भएको छ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई दिन सिक्का बिक्री गरिनेछ।
यस वर्ष राष्ट्र बैंकले ३५ किलो सुन खरिद गरी असर्फी तयार पारेको छ। एक जनाले २।५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका बढीमा तीनवटा चाँदीका सिक्का किन्न पाउनेछन्।
चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेश अंकित सिक्का बिक्री गरिनेछ। सुन तथा चाँदीको दैनिक बजार मूल्यका आधारमा सिक्काको मूल्य निर्धारण हुनेछ।
उत्पादन खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का किन्न नागरिकता, राष्ट्रिय परिचयपत्र वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।





















