काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहँदा चाँदीको भाउ भने लगातार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि चाँदीको भाउ ४५ रुपैयाँले घटेको थियो।
पछिल्लो समय सुनचाँदी दुवैको मूल्यमा उतारचढाव देखिँदै आएको छ। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।






















