काठमाडौं । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताले दिएको जनमतको सदुपयोग गर्दै भ्रष्टाचारीमाथि कारबाही गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले जनताले प्रधानमन्त्रीलाई आलोचक र पत्रकार पक्राउ गर्न नभई देश लुटेर अकुत सम्पत्ति कमाउनेहरूलाई कानुनी कठघरामा उभ्याउन जनमत दिएको बताएका छन्।
उनले भ्रष्टाचारीलाई प्रमाण र कानुनी प्रक्रियाका आधारमा कारबाही गर्न, युवालाई स्वदेशमै रोजगारी दिन तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
विदेशिन बाध्य युवालाई आफ्नै देशमा भविष्य देखाउने वातावरण बनाउन र जनतालाई सुशासन, न्याय तथा विकासको अनुभूति दिलाउन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
शाहीले भ्रष्टाचारीलाई जेल हाल्ने काम भए आफूहरू सरकारको साथमा रहने उल्लेख गर्दै भनेका छन्, ‘कमेडी नगर्नुस्, काम गरेर देखाउनुस्।’
























