काठमाडौं, भदौ १- काठमाडौं जिल्लाको पश्चिम क्षेत्रमा रहेको श्री कंकाली माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु शिक्षा क्षेत्रमा ४२ बर्ष ९ महिना प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै अनिवार्य अवकास मार्फत सेवानिवृत्त हुनुभएको छ ।
उहाँले २०४० साल कात्तिक ७ गते देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नेपालको ईतिहासमा ४२ बर्ष ९ महिना प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने पनेरु एक्ला व्यक्ति हुनुहुन्छ । १६ वर्ष कै उमेरमा शिक्षा सेवामा प्रवेश गर्नुभएका पनेरु सस्थापक प्रधानाध्यापक समेत हुनुहुन्छ ।
२०४० सालमा हालको चन्द्रागिरी नगरपालिका वडा नम्बर- १३, पुरानो नैकापमा रहेको कंकाली डाडो अत्यासलाग्दो भीरको रुपमा थियो । विद्यालय संचालन गर्न कुनै संरचना थिएन । सडक सुविधा नहुदा संरचना निर्माणका निम्ति आवश्यक सामाग्रीहरु पुर्याउन असम्भव जस्तै थियो । जसका कारण सुरुमा अमलाको फेदमा राखेर ४ जना विद्यार्थीहरुबाट अध्यापन सुरु गरिएको शिक्षण यात्रा ४२ बर्ष ९ महिना सम्म आईपुग्दा विद्यालयको बिशाल संरचना, करीब १ हजार जना विद्यार्थी, ४ वटा विद्यालय बसको धनी भएको छ, कंकाली माध्यामिक विद्यालय । यसको श्रेय पनेरुलाई जान्छ ।
४ दशक ९ महिना शिक्षा सेवामा समर्पित पनेरु उमेर हदका कारण आज सोमबारबाट सेवानिवृत्त हुने भएपछि, विद्यालय परिवार, पुर्व विद्यार्थी समाज र चन्द्रागीरी नगरपालिकाको सयुक्त आयोजनामा एक विशेष कार्यक्रम आयोजना गरि बिदाई गरिएको छ ।
कार्यक्रममा, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थी, स्थानीय नागरिक, नागरिक समाजका अगुवा, चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक महासंघका अध्यक्ष, उपत्यकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुको तर्फबाट शिक्षा क्षेत्रको विकास, गुणस्तरीय पठनपाठन, शैक्षिक नेतृत्व तथा विद्यालयको संस्थागत विकासमा पनेरुले पुर्याएको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरेका थिए।
विष्णु प्रसाद पनेरुको नेतृत्वमा चार जना विद्यार्थीबाट सुरु भएको श्री कंकाली माध्यमिक विद्यालय आज हजारौँ विद्यार्थी अध्ययन गर्ने प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शिक्षण वातावरण निर्माण र दक्ष जनशक्ति उत्पादनमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।
चार दशकभन्दा बढी समय शिक्षाप्रति समर्पित रहँदै विद्यालय र समाजको शैक्षिक उन्नयनमा निरन्तर क्रियाशील पनेरुले कंकाली माध्यमिक विद्यालयलाई नगरपालिकाको नमुना विद्यालय त बनाए नै, त्यो भन्दा ठुलो देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित गराए ।
पनेरुले आफ्नो सेवानिवृत्त जीवन नगरवासीको सेवामा समर्पित गर्ने उद्घोष गर्नुभएको छ । विदाई पश्चात हाम्रोसंचारसँग कुरा गर्दै पनेरुले राजनीतिक दलको तर्फबाट नै स्थानीय तहको निर्वाचनमा होमिन लागेको बताए पनि कुन दलको तर्फबाट जाने भन्ने खुलाउन चाहानु भएन।
शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वलाई गरिएको यस सम्मानले समर्पित शिक्षक, शैक्षिक नेतृत्व र शिक्षा सेवामा योगदान पुर्याउने व्यक्तिहरूप्रति समाज र स्थानीय सरकारको सम्मानभावलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ।































