
रुपन्देही । नेकपा माओवादीका उपाध्यक्ष बनेका पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा आएको बताएका छन्
आज प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले पहिले पार्टीले पठाएर उपराष्ट्रपतिको जिम्मेवारीमा गएको र कार्यकाल सकिएपछि पुनः पार्टी जिम्मेवारीमै फर्किएको प्रष्टोक्ति दिएका हुन् ।
पुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे । ‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो’ उनले भने–‘संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्नेथियो र ?
पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसँग भेटघाट गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने आफ्नो प्रष्ट कुरा भएको बताए ।
राजावादीको सक्रियताप्रति कडा रुपमा प्रस्तुत भएका पुनले अहिलेको अवस्थामा राजतन्त्र फर्काउने कल्पना कसै नगरे हुने र त्यस्ता मण्डलेहरुलाई नेपाली जनताले साथ नदिने बताए
‘माओवादीले राखेको कार्यक्रम विथोल्न योजनासहित राजावादीहरुले सोही दिन कार्यक्रम राखे, उनीहरुले मण्डले चरित्र प्रस्तुत गरे, कति वितण्डा मच्चाए, उनीहरुको के उद्देश्य रहेछ त्यो प्रष्ट पारे त ’ उनले भने । उपाध्यक्ष पुनले पार्टीले आवश्यक ठानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको बताए ।