Hamro Sanchar

गणतन्त्रका पक्षमा कागेश्वरी मनोहराका ९ वटै वडामा एमालेको कोणसभा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


काठमाडौं, चैत १२- नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको हो ।

यसैअनुरुप एमाले कागेश्वरी मनोहरा नगरपालिकाको नगर कमिटीले ९ वटै वडामा एकैसाथ कोणसभा सम्पन्न गरेको छ ।

सोमबार अपरान्ह वडा नम्बर-६ को कमिटीले बाबाचोकमा कोणसभा सम्पन्न गरेको हो । कोणसभामा बागमती प्रदेश सदस्य तथा स्थानीय नेता मणिराम फुयाल, कागेश्वरी मनोहरा नगर उपप्रमुख शान्ता थापा, नगरसभा सदस्य रूपमती भण्डारी, नगर अध्यक्ष ज्योतिराम फुयाल, वडा इन्चार्ज कमला दाहाल, वडा कमिटी अध्यक्ष उमेश अधिकारीलगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा कोणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बागमती प्रदेश सदस्य फुयालले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिएको बताए । उनले जनताले पाएको अधिकारलाई संरक्षण गर्नु अभियानको मुख्य उदेश्य रहेको बताए । उनले लोकतान्त्रिक पद्धतिमा बिकास र समृद्धि सम्भाव रहेको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरे । शासन प्रणाली, विकास र समृद्धिका लागि यो भन्दा उत्तम व्यवस्था अर्को हुन नसक्ने उनको भनाई थियो ।

नगर उपप्रमुख शान्ता थापाले जनताले प्राप्त गरेको जनताको अधिकार खोसिने कुरा जनताले कुनै हालतमा नमान्ने भन्दै लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिन सबैैमा आग्रह गरिन् ।

एमाले केन्द्रीय सचिवालयको गत चैत ४ गते बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

बैठकले पछिल्लो समय विदेशी शक्तिको उक्साहटमा पूर्वराजावादी शक्तिहरू सलबलाएर नेपाली जनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै मिथ्या भ्रम फैलाएको ठहर गर्दै उक्त भ्रम चिर्न र जनतामा गणतन्त्रप्रति जागरण फैलाउन जनपरिचालन गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्