Hamro Sanchar

कागेश्वरी मनोहरामा विद्यार्थी तथा युवालक्षित वृत्ति मार्गनिर्देशन सेवा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १९ गते


काठमाडौं, फागुन १९- विद्यार्थी तथा युवालाई उनीहरूको रुचि र खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिकामा ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ । नगरप्रमुख उपेन्द्र कार्कीले आइतबार एक कार्यक्रमकाबिच वृत्ति मार्गनिर्देशक सेवा इकाईको उद्घाटन गरेका हुन् ।

केन्द्रमा सञ्चालन गरिएको वृत्ति मार्गनिर्देशन सेवा कक्षा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहित युवाहरूलाई व्यक्तिगत र सामूहिक परामर्श मार्फत प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख कार्कीले वृत्ति मार्गनिर्देशनलाई सफल पार्न आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षकहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

विद्यार्थी तथा युवाको रुचि, खुबी अनुसार उनिहरूले अध्ययन गर्न सक्ने विषय, भविष्यमा गर्न सकिने काम तथा रोजगारीको खोजीमा रहेका युवालाई कुन उद्योगमा कस्तो रोजगारीको सम्भावना, अवसर तथा चुनौतीका बारेमा जानकारी दिन वृत्ति मार्गनिर्देशक सेवाले सहयोग गर्ने बताए । उनले उक्त सेवाले पेसाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने बताए ।

“वृत्ति मार्गनिर्देशन सेवाबाट पेसाका बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले बताए । उनले प्रदेश मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरी उनीहरूको रुचि, खुबी र श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिने बताए ।

इन्सियरको डिपुटी टीम लिडर संजिप कुमार राइले आफुहरुले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्रमार्फत यो सेवा विस्तार गर्ने लक्ष्य राखेको बताए ।

नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताबमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) र सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो ।


प्रतिकृया दिनुहोस्