काठमाडौं, मंसिर २५- कागेश्वरी मनोहरा नगरपालिकामा हरित तथा स्वच्छ विद्यालय प्रारूप-२०८१ को मस्यौदा माथि सुझाव संकलन गरिएको छ । नगरपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति र शिक्षासँग सम्बन्धित सरोकारवाला पक्षबीच बृहत छलफलसहित सुझाव संकलन गरिएको हो ।
नगरपालिकाको आयोजना र वातावरण तथा जन-स्वास्थ्य संस्था (एन्फो)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
पाँच समुहमा बिभाजन गरि सुझाव संकलन गरिएको थियो । समूहले छुट्टाछुट्टै शिर्षकमा सुझाव दिएको थियो । संकलित सुझावलाई छिट्टै हरित तथा स्वच्छ विद्यालय कार्यक्रम मार्फत कार्यान्वयनमा ल्याइने बताइएको छ ।
वातावरणमैत्री र आकर्षक विद्यालय निर्माण गरी पठनपाठनमा सजिलो बनाउने रहेको छ । विद्यालयको वातावरण देख्दैमा विद्यार्थीहरु विद्यालय आउने वातावरण निर्माण गर्नु नै हरित विद्यालयको पहिलो उद्धेश्य रहेको छ ।
हरियाली वातावरण निर्माण गरी विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्नको लागि हरित विद्यालय कार्यक्रम संचालन गर्न लागिएको शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले जानकारी दिए ।
स्वच्छ हावा र सुुन्दर वातावरण निर्माण गरी सबै खालका विद्यार्थीहरुलाई विद्यालयमा आउँ आउँ भन्ने वातावरण निर्माण गर्न एक विद्यालय, एक बगैंचा तथा वृहत हरित क्षेत्र बनाउने कार्यक्रम रहेको उनले बताए ।
एक विद्यालय, एक बगैंचा कार्यक्रमले विद्यालयको सौन्दर्य बढाउन, विद्यार्थीलाई विद्यालयको हरियाली तथा फूलबारी विकासमा अपनत्व विकास गर्न र विद्यार्थीको सक्रियता बढाउनको लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय परिसरलाई हरित क्षेत्र बनाउन हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ जारी गरको छ । वातावरण संरक्षण प्रतिको ज्ञान, सीप र धारणा विकास मन्त्रालयले शिक्षा नियमावली, २०५९ को नियम १९२ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको हो । विशेष गरी सामुदायिक विद्यालयहरूको आकर्षण वृद्धि गरी बालबालिकालाई स्वच्छ वातावरणमा पठनपाठन गराउन पहिलोपटक यो निर्देशिका सार्वजनिक गरेको हो ।
कार्यक्रमको लक्ष्य तथा उद्देश्य
लक्ष्य
एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रमको मुख्य लक्ष्य प्रत्येक विद्यालयमा कम्तिमा पनि एउटा बगैंचा निर्माण र विद्यालय सेवाक्षेत्रका सार्वजनिक स्वामित्वमा रहेको खाली जमिनमा वृक्षारोपण गरी हरियालीयुक्त वातावरण बनाउनु रहेको छ ।
उद्देश्य
– विद्यालयको वातावरण सफा, शान्त, सुरक्षित र हरियालीयुक्त बनाउने ।
– विद्यार्थीहरूलाई परियोजनामा आधारित सिकाइका माध्यमबाट वास्तविक अनुभव दिलाउनुका
साथै आत्मनिर्भरतामा जोड दिने ।
– प्रत्येक विद्यालयमा जैविक बगैंचा निर्माण गरी विद्यार्थीहरूलाई पोषक तत्व खानेकुराको ज्ञान,
सीप र अभिवृत्तिको विकासमा टेवा पुर्याउने ।
– विद्यालयलाई उदाहरणीय हरित केन्द्रका रूपमा विकास गरी समुदायका लागि अनुकरणीय सिकाइ
केन्द्र बनाउने ।
– विद्यालय सेवा क्षेत्रभित्रका खाली सार्वजनिक जग्गामा वृक्षरोपण गरी हरित क्षेत्र निर्माणमा सहयोग पुर्याउने ।
– विद्यालय सेवा क्षेत्रभित्र वातावरण संरक्षण गर्न विद्यार्थी, शिक्षक, अभिभावक र समुदाय परिचालन गर्ने ।
– विद्यालयलाई आकर्षक र मनोरमस्थलका रूपमा विकास गर्ने ।
– विद्यालयलाई एक जीवित प्रयोगशालाका रूपमा विकास गर्ने ।
– विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउने ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति
प्रत्येक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा देहायबमोजिमको एक हरित कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति गठन हुनेछ– समितिको अध्यक्षमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ। वडाले तोकेर पठाएको एकजना प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्ष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य रहने निर्देशिकामा उल्लेख छ।
विद्यालय परिसरभित्र बगैंचा तथा हरित क्षेत्र निर्माणसम्बन्धी कार्यक्षेत्र
– विद्यालयमा हरित बगैंचा,
– विद्यालयमा हरित घेराबार (जैविक घेराबार)
– औषधिजन्य जडिबुटी बिरुवाको बगैंचा
– सदावहार तथा मौसमी फूलबारी
– छत, बरन्डा, करिडोर आदिमा गमलामा अर्नामेन्टल बिरुवा तथा आकर्षक फूलका बिरुवा
– अन्य विभिन्न बिरुवा (धूपी, अशोका, साइकस, क्रिसमस ट्रि आदि)
– फलफूलका बिरुवा (अम्बा, आँप, लिची, स्याउ, नासपाती आदि) सहितको बगैंचा
हरित विद्यालय कार्यक्रम कार्यान्वयनको
आधार तथा मापदण्ड
– विद्यार्थीको रुचि, क्षमता, सिकाइस्तर, विद्यालयको खाली जग्गा, हावापानीसमेतको आधारमा विद्यालयले हरित क्षेत्र निर्माणका लागि परिच्छेद ४ बमोजिमको क्षेत्रमध्ये कुनै वा सबै क्षेत्र छनोट गर्नुपर्नेछ ।
– सबै विद्यालयले एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम अनिवार्यरूपमा सञ्चालन गर्नुपर्नेछ । प्रत्येक विद्यालयले विद्यालय परिसरभित्र कम्तिमा एउटा बगैंचा निर्माण गर्नुपर्नेछ ।
– खाली जग्गा ज्यादै कम भएका विद्यालयले गमला, कौसी, बोरा, पर्खाल, बरन्डा, छतलगायतका उपयुक्त स्थान र तरिका छनोट गरी बगैंचा निर्माण गर्नुपर्नेछ ।
– विद्यालयको भवन, कक्षाकोठा, शौचालयले ओगटेको जग्गाको अतिरिक्त १ रोपनीभन्दा कम जग्गा भए फूलबारी, अर्नामेन्टल बिरुवा र औषधिजन्य (हर्बल) बिरुवा रोप्नुपर्नेछ ।
– खाली जग्गा ५ रोपनीसम्म हुने विद्यालयले फूलबारी, औषधिजन्य बिरुवा र तरकारी बगैंचा वा अन्य उपयुक्त खालका बिरुवा लगाई हरित क्षेत्र निर्माण गर्नुपर्नेछ ।
– खाली जग्गा २० रोपनीसम्म हुने विद्यालयले फूलबारी, औषधिजन्य रुख, तरकारी बगैंचा र फलफूल लगाउनुपर्नेछ । सोभन्दा बढी खाली जग्गा भएमा यसका अतिरिक्त भौगोलिक अवस्था र सुरक्षासमेतलाई दृष्टिगत गरी माछापालन वा माहुरीपालन थप गर्न सकिनेछ ।
– विद्यालय परिसर र विद्यालय सेवा क्षेत्रभित्र वृक्षरोपण, सरसफाइ, पानीका मुहान संरक्षण गर्नुपर्नेछ ।
– आफ्नो विद्यालयको विद्यार्थी, अभिभावक र समुदायमा वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउनुपर्नेछ ।
– प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने विद्यालयले बाली विज्ञान वा पशुपालन विषय सञ्चालन गरेको भए थप बगैंचा प्रयोगशालाका रूपमा तयार गर्नुपर्नेछ ।
– विद्यालयले स्थानीय तह, सामाजिक संस्था, गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
– विद्यालयको आफ्नो स्वामित्वमा रहेको जग्गा लिजमा वा अन्यलाई भाडामा दिन पाउने छैन ।