Skip

Hamro Sanchar

हमासका नम्बर २ प्रमुख मारिए : इजरायल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


काठमाडौं । प्यालेस्टाइनको गाजा सिटीमा इजरायली आक्रमणमा हमासका सेकेन्ड–इन–कमान्ड राएद सईदको मृत्यु भएको जनाइएको छ ।

इजरायली सेना (आईडीएफ)ले गाजा सिटीमा एउटा कारलाई निसाना बनाएर उक्त हमला गरिएको शनिबार दाबी गरेको हो।

हमासले राएद सईदको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । उनी हमासको अल–कासिम ब्रिगेडका प्रमुख कमान्डर थिए ।

इजरायली सेनाका अनुसार, सईद हमासको हतियार बनाउने सञ्जालका प्रमुख थिए । सन् २०२३ अक्टोबरमा इजरायलमाथि गरिएको हमलाको षड्यन्त्र रच्नेमा पनि उनी संलग्न रहेको जनाइएको अलजजिराले उल्लेख गरेको छ ।

सईद गाजा सिटी बटालियनका पूर्वप्रमुख पनि थिए । उनले युद्धविरामका बाबजुद हमासको क्षमतालाई पुनः बलियो र हतियार बनाउने काम गरेको इजरायलको आरोप छ । यो कार्य युद्धविराम सम्झौताको उल्लंघन हो ।

उक्त आक्रमण हमासले इजरायली सैनिकमाथि हमला गरेपछिको थियो । हमासको हमलामा दुई इजरायली सैनिक घाइते भएका थिए ।

त्यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले सईदलाई निसाना बनाउने आदेश दिएका थिए । नेतान्याहूले आफूहरूले सैनिकको मृत्युको बदला लिएको बताएका छन् ।

अरबका गुप्तचर अधिकारीका अनुसार, सईद विगत दुई वर्षको दौरान धेरैजसो समय गाजा सिटीमुनि बनाइएको हमासको सुरुङमा लुकेर बसेका थिए ।

अर्कोतर्फ, हमासले सईदको मृत्युको पुष्टि गरेको छैन । संगठनको भनाइमा, इजरायली ड्रोनले गाजा सिटीको पश्चिमस्थित नबुलसी जंकसननजिकै एक गाडीलाई निसाना बनाएको थियो ।

उक्त हमलामा पाँचको मृत्यु र २५ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्