Skip

Hamro Sanchar

सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरद्धारा ‘वन डढेलो विपदबिरुद्ध जनचेतना अभियान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २४ गते


भक्तपुर, बैशाख २४- सूर्यविनायक नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान शूरु गरिएको हो । कार्यक्रमको सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले उद्घाटन गरे । सो अवसरमा वडाध्यक्ष बस्नेतले वडाको तर्फबाट वन डढेला नियन्त्रणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहरा, जिल्ला उपभोक्ता महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रामेश्वर थापा, वर्तमान अध्यक्ष पार्वती श्रेष्ठ नगरकोटी, पारिवारिक निजी वन संघ बागमती प्रदेशका अध्यक्ष सहदेव न्यौपाने, पारिवारिक निजी वन संघ भक्तपुरका अध्यक्ष हरिशरण बस्नेतलगायत पदाधिकारी तथा सदस्यहरुले वन डढेलो नियन्त्रणका लागि महासंघले गरिरहेको र गर्दै आइरहेको कार्य बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लामो समयदेखि सामुदायिक वनमा क्रियाशील भई वन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका वन विज्ञ सुभाष चन्द्र देवकोटाले वन डढेलो नियन्त्रणका लागि गर्नुपर्ने काम र अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिए ।

डढेलो सुख्खा सिजन विशेष गरि चैत बैशाखमा मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गरेको छ । अध्ययनका अनुसार डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन् ।

नेपालमा वनजङ्गलमा डढेलो लगाउनेलाई कारबाही हुने कानूनी व्यवस्था छ। वन ऐन, २०७६ मा राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ।


प्रतिकृया दिनुहोस्