काठमाडौं, भदौ ३१- भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको राहत तथा पुनःस्थापनाका लागि नेपाल पब्लिक क्याम्पस संघमार्फत मदन भण्डारी मेमोरियल कलेजले रु. २५ हजार आर्थिक सहयोग गरेको छ।
विदुर नगरपालिका–१, त्रिशूलीस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मदन भण्डारी मेमोरियल कलेजले प्रभावित क्याम्पस तथा समग्र शैक्षिक समुदायप्रति ऐक्यबद्धता जनाएको हो।
कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले नेपाल पब्लिक क्याम्पस संघलाई पत्र पठाउँदै राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. २५,००० (अक्षरेपी पच्चीस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको हाम्रोसंचारलाई जानकारी दिनुभयो ।
पत्रमा भाद्र १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भीषण बाढीका कारण त्रिशूली बहुमुखी क्याम्पसमा ठूलो क्षति पुगेको उल्लेख गर्दै विपद्को समयमा शैक्षिक संस्थाबीच सहकार्य र सामाजिक उत्तरदायित्व आवश्यक रहेको जनाइएको छ।
मदन भण्डारी मेमोरियल कलेजले गरेको यो सहयोग रकमले बाढीबाट प्रभावित कलेजको राहत तथा पुनःस्थापना अभियानमा थप सहयोग जुटाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
त्रिशूली बहुमुखी क्याम्पसको भौतिक संरचनामा क्षति पुगेपछि विद्यार्थीको पठनपाठन तथा शैक्षिक गतिविधि प्रभावित भएका छन्। यस्तो अवस्थामा तत्काल राहतसँगै कलेजको पुनःस्थापना र विद्यार्थीको अध्ययन निरन्तरताका लागि विभिन्न शैक्षिक संस्था तथा सरोकारवालाबाट सहयोगको आवश्यकता देखिएको छ।
मदन भण्डारी मेमोरियल कलेजको सहयोगले विपद्मा परेका शैक्षिक संस्थाप्रति सामुदायिक कलेजहरूले देखाउनुपर्ने सहकार्य, ऐक्यबद्धता र सामाजिक जिम्मेवारीको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

































