काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार्न सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ।
यसका लागि शिक्षा मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच शुक्रबार छलफल भएको छ।
छलफलमा परीक्षा प्रणाली व्यवस्थित गर्ने, पाठ्यक्रम परिमार्जन, अनुसन्धानलाई प्रोत्साहन, विद्यार्थी कोटा निर्धारण, ई–हाजिरी लागू गर्ने तथा शैक्षिक सत्र नियमित बनाउने विषयमा जोड दिइएको थियो।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सम्बन्धन प्राप्त क्याम्पसमा पुस्तकालय, प्रयोगशाला र आवश्यक पूर्वाधार अनिवार्य गर्नुपर्ने बताएका छन्।
त्यस्तै, त्रिविको जग्गा फिर्ता ल्याउने विषय पनि उठाइएको छ।
उपकुलपति प्राडा भोला थापाले त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउँदै उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
























