रौतहट । रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
सोमबार दिउँसो राजदेवी नगरपालिका–१ झुनखुनवाबाट मोतीपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवान गम्भीर घाइते भएका थिए।
उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएका उनीहरूलाई चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा १५ वर्षीय आकाश पासवान र भारतको सीतामढीका १७ वर्षीय सुनिल पासवान पनि घाइते भएका छन्।
आकाशको गौरमै उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ
























