१८ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिमा नयाँ ढंगबाट अघि बढ्ने जिम्मेवारी अब नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काँधमा आएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो राजनीतिक यात्रामा पटक–पटक ‘क्रमभंग’ गर्दै आएको स्मरण गरेका थिए ।
जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफूले स्थापित राजनीतिक शैलीभन्दा फरक ढंगबाट निर्णय लिँदै आएको उनको भनाइ थियो।
तर पछिल्लो अवस्थामा भने आफूबाट विगतजस्तै क्रमभंग गर्न कठिन भइरहेको संकेत गर्दै उनले अब नयाँ राजनीतिक अभ्यासको जिम्मेवारी गगन र रविले लिनुपर्ने बताए।
‘मैले धेरैपटक क्रमभंग गर्दै आएको छु। अहिले आएर मबाट क्रमभंग गर्न केही गाह्रो भइरहेको हो कि जस्तो लाग्छ,’ प्रचण्डले भने, ‘अब क्रमभंग गर्ने पालो गगनजीको हो, रविजीको हो।’
उनको अभिव्यक्तिले कांग्रेस सभापति थापा र रास्वपा सभापति लामिछानेप्रति नयाँ राजनीतिक अभ्यास र नेतृत्वमा परिवर्तनको अपेक्षा गरेको संकेत गरेको छ।































