
भक्तपुर, बैशाख १९- चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको बताए ।
मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू परिचालन गरिसकिएको छ । साथै छिट्टै किसान कार्ड उपलब्थ गराई किसानलाई समयमा आवश्यक मल, बिउ बिजन, प्राबिधिक एबं अन्य सहयोग उपलब्ध गराउन नगरपालिका जुटिसकेको र काममा खटी आउने कर्मचारीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरे ।
मेयर खत्रीले कृषी क्षेत्रमा आबद्ध हुने किसानले अहिले भोग्नुपरेको समस्या आगामी दिनमा नहुने बताउँदै भने, ‘यो कार्यका लागि सबैले सकारात्मक बिश्वासका साथ अघि बढ्न र सहयोग गर्नुपर्ने खाँचो छ ।’
अहिले किसानले भोगेको समस्या सामाधानमा नगरपालिका लागेको र सो कार्य नगरबासीको सहयोग बिना सम्भव नहुने उनले बताए ।
यसअघि नगरपालिकाका मेयर जीवन खत्रीले कृषि, पशुपक्षी विकास र सहकारी शाखाका प्रमुखसहितको सहभागितामा रासायनीक मल वितरणमा गुनासो नआउने गरि कृषकको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यका साथ अनुदानको मलको लागि स्वीकृति पाएका सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरुसँग छलफल गरेका थिए ।
अघिल्लो वर्ष प्रदेशबाट ४ सय बोरा मल आएकोमा यो पटक ९ सय बोरा रासायनीक मल ल्याउन सफल भएको मेयर खत्रीले बताए । नगरपालिकाले आगामी दिनमा आवश्यक मलको लागि प्रदेश सरकारसँग थप कोटा बढाउन पहल गर्ने पनि उनले बताए । नगरपालिकाले उपलब्ध मललाई छिटो छरितो, विना झन्झट वितरण गरिने पनि उनले बताए ।
नगरपालिकाले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई प्राप्त कोटाको रासायनीक मल उपलब्ध गराउन सिफारिस गरिसकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनी काटेश्वरलाई एक पत्र पठाउँदै ३४ वटा सहकारीलाई ४५ टन मल (५० केजीको ९ सय बोरा) २६ बोराको दरले उपलब्ध गराउन सिफारिस गरेका छन् ।













