काठमाडौँ, कात्तिक ११- नेपाल क्रिकेट संघ (क्यान)ले स्टार स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।
सोमदारदेखि सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । हिजो मात्रै सम्पन्न त्रिकोणात्मक सिरिजमा सन्दीप लामिछाने खेलेका थिएनन् । परिवारका लागि समय दिने भन्दै सन्दीप उक्त प्रतियोगिता खेलेका थिएनन् । नेपालले घोषणा गरेको अन्य खेलाडी परिवर्तन गरेको छैन । अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसपश्चातको विश्वकपमा स्थान बनाउन नसकेको नेपाल अहिले उपाधिको प्रमुख दाबेदार टोली हो ।