Hamro Sanchar

कागेश्वरी मनोहरामा नगर स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, यी जोडी सफल भए उपाधी चुम्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १५ गते


Advertisement

काठमाडौं, असोज १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७मा नगर स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

‘घनामंगल युथ फोरम फर सोसाइटी’को आयोजना तथा नगरपालिकाको सहयोगमा प्रतियोगिता वडा कार्यालयको कवड हलमा शनिबार (आज) सम्पन्न भएको हो । जसमध्ये खुल्ला पुरुषतर्फ सुरेन्द्र कटुवाल र कृष्ण खतिवडाको जोडी प्रथम भएको थियो भने महिलातर्फ मैया भट्टराई र सीता कार्कीको जोडीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । यस्तै भेट्रान्स (४५ वर्षमाथि)तर्फ दिपक लामा र बिष्णु बस्नेतको जोडी प्रथम भएको थियो । खुल्ला पुरुषतर्फ द्दितीय हुनेमा दिपक लामा, नारायण गौतम, भेट्रान्सतर्फ केशव न्यौपाने, ध्रुब खड्का, महिलातर्फ प्रेक्षा बस्नेत, अनिता बस्नेत र तृतीय हुनेमा बिष्णु बस्नेत, राम बहादुर श्रेष्ठ र भेट्रान्सतर्फ विश्वनाथ खनाल, श्रीराम थापा रहेका छन् ।

घनामंगल युथ फोरम फर सोसाइटीका सचिव शेखर सिग्प्रदेलकाअनुसार प्रतियोगितामा ४० जोडीले सहभागिता जनाएका थिए । त्यसमध्ये  पुरुषको जोडी ३७ र ३ जोडी महिला प्रतिस्पर्धी रहेका थिए । बिजेतालाई कप, मेडल, प्रमाणपत्र र सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा र वडाअध्यक्ष भिमसेन थापाले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता नगरप्रमुख कार्कीले समापन गरेका हुन् । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख कार्कीले खेलकूद क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिए । उनले नगरलाई खेलकूद सिटीको रुपमा विकास गर्न आफू लागिपरेको पनि बताए । नगर उपप्रमुख शान्ता थापाले प्रतियोगितामा महिलाहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै खेलकूदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

यस्तै कार्यक्रममा वडाअध्यक्ष भिमसेन थापाले स्वास्थ्यका लागि खेलकूल अत्यन्त आवश्यक भएको बताउदै खलकूदलाई वडाले पनि प्राथमिकता दिएर कार्य गरिरहेको बताए ।

समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाबासी, तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । हिन्दु धर्मालम्बीहरुको महान् पर्व विजया दशमी तथा शुभदिपावलीको अवसरमा  प्रतियोगिता यहि असोज १० गते घटस्थापनाका दिनबाट शुरु भएको हो ।


प्रतिकृया दिनुहोस्