१८ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को अन्त्यदेखि इजरायललाई उपलब्ध गराउँदै आएको वार्षिक सैन्य सहायता बन्द गर्ने घोषणा गरेका छन्।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग यस विषयमा सहमति भइसकेको बताएका हुन्।
उनका अनुसार आर्थिक सहायता रोकिए पनि अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ र आवश्यक पर्दा सहयोगसमेत गर्नेछ।
अमेरिका र इजरायलबीचको सम्झौताअनुसार सन् २०२८ सम्म अमेरिकाले प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउने व्यवस्था छ।
तर, इजरायललाई अब अमेरिकी आर्थिक सहयोग आवश्यक नरहेको तर्क गर्दै ट्रम्पले सहायता बन्द गर्ने निर्णय सुनाएका हुन्।
गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर अमेरिकाभित्रै इजरायलप्रतिको समर्थन घट्दै गएको र रिपब्लिकन पार्टीभित्र समेत सैन्य सहायताबारे बहस चर्किरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो।
























