१३ कार्तिक, काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन–प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका कार्य गरेको पाइएको छ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवालासँछलफल गरी ऐन तथा मन्त्रालयबाट जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, निर्देशन पालना गरेको नदेखिएपछि ऐनको दफा ६ को उपदफा (२)बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा निलम्बनको निर्णय कार्यान्वयनमा रहेसम्म एन–प्याब्सनको नाममा कुनै समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने उल्लेख छ। त्यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।


























