ढाका । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र कक्स बजारस्थित एक रिसोर्टमा शनिबार बिहान भएको भीषण आगलागीमा परी छ जनाको मृत्यु भएको छ।
ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो नियन्त्रणमा लिएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो।
काठबाट निर्माण गरिएको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ। स्थानीय समयअनुसार बिहान ७ः२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली घटनास्थल पुगेको थियो।
अग्नि नियन्त्रकहरूले करिब बिहान ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए। राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजारको उक्त रिसोर्टमा आगलागी हुनुको कारण भने खुल्न सकेको छैन।
घटनाबारे सम्बन्धित अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।































