बेइजिङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षपछि आज सञ्चालनमा आएको छ ।
यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।
चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशको परम्परागत मित्रताको प्रतीक बताउँदै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।
सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो । चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो ।
नयाँ पुलले दुई देशबीचको ७० प्रतिशतभन्दा बढी आधिकारिक व्यापार सम्हाल्दै आएको पुरानो पुलको चाप कम गर्ने अपेक्षा छ । दशकौँ पुरानो पुलमा सडक यातायात एकपटकमा एकतर्फ मात्र सञ्चालन गर्न सकिन्छ ।
रुस र उत्तर कोरियाले सडक पुल सञ्चालनमा ल्याएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल खुलेको हो । चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहे पनि पछिल्ला वर्षमा नेता किम जोङ उनले रुससँगको सम्बन्ध विस्तार गरेका छन् ।
युक्रेन युद्धमा रुसलाई सैनिक र हतियार सहयोग गरेको उत्तर कोरियाले त्यसको बदलामा सैन्य तथा आर्थिक सहयोग पाएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।
चीनले उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको विश्लेषण भइरहेका बेला गत वर्ष उत्तर कोरियाको कुल व्यापारको ९८ प्रतिशत हिस्सा चीनसँग रहेको थियो ।






























