३१ असाेज, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।
असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कविच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकोप्टरले १०० केभीए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो ।
प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए ।
“जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको हो”, उनले भने, “स्थलमार्गबाट पुगेका प्राविधिक र स्थानीयले मर्मतको काम गरेका छन् । हामीले शनिबार नै ट्रान्सफर्मर जडान र परीक्षण गरी विद्युत् आपूर्ति सञ्चालन गराउने प्रयासमा छौँ ।”






























