काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले यमनको अदेनस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई लक्षित गरी पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन्।
बिहीबार भएको आक्रमणमा प्रधानमन्त्री साया अलजिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित सरकारी कर्मचारीको ज्यान गएको हो।
आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्री राष्ट्रपति भवन परिसरमै रहे पनि सबै सुरक्षित रहेको जनाइएको छ।
हुथी विद्रोहीले राष्ट्रपति भवन परिसरभित्र रहेको साउदी सैन्य अभियान केन्द्रलाई लक्षित गरिएको दाबी गरेको छ। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले भने आक्रमणबाट भएको क्षति र प्रयोग गरिएका क्षेप्यास्त्रबारे थप विवरण सार्वजनिक गरेको छैन।
सन् २०१४ मा हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि यमन सरकार अदेनबाट सञ्चालन हुँदै आएको छ। पछिल्लो आक्रमण यमन सरकारले हुथीविरुद्ध नयाँ सैन्य अभियान सुरु गरेका बेला भएको हो।































