३० असोज, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधारदेखि प्रविधिको प्रयोगसम्मका काम अघि बढाइएको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रहरी संगठन सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको जानकारी दिए।
प्रहरीको आवास, स्वास्थ्य, सरुवा तथा बढुवासम्बन्धी व्यवस्था व्यवस्थित गर्नुका साथै सेवा–सुविधा थप्ने सरकारको तयारी रहेको उनले बताए।
प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने, एआई, साइबर अपराध, डिजिटल फोरेन्सिक र डीएनए परीक्षणजस्ता क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने चेतावनी दिँदै सूचना संरक्षण र गोपनीयता कायम राख्न निर्देशन दिए।
उनले अन्तरदेशीय अपराध नियन्त्रणका लागि छिमेकी तथा क्षेत्रीय मुलुकसँग सूचना आदानप्रदान र प्रविधिमा सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए।































