Skip

Hamro Sanchar

३३ जना एसएसपीको सरुवा, को-कहाँ पठाइए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


१९ जेठ, काठमाडौं ।नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।

सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।

काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।

ललितपुर परिसरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जय सिंह थापा, कोशी प्रदेश प्रहरी तामिल केन्द्र विराटनगरमा शिव कुमार श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।

सिन्धुलीको दुधौली स्थित बागमती प्रदेश प्रहरी तामिल केन्द्रमा बिर बहादुर बुढामगर, मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई पठाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ । प्रभु ढकाल लाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । ढकाल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत थिए । एसएसपी दयानिधी ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पोखरामा सरुवा गरिएको छ ।

 


प्रतिकृया दिनुहोस्