Skip

Hamro Sanchar

पूर्वसभामुख महरासँग अदालतले माग्यो १ लाख धरौटी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


१८ जेठ, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा अदालतले १ लाख धरौटी मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले बयान र थुनछेक बहस सकिएपछि तारिखमा छाड्न महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो ।

पूर्वसभामुख महराविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सोमबारै बयान र थुनछेक बहस भएको थियो ।

बयानका लागि कार्यालय खुलेलगत्तै महरा आज विशेष अदालतमा हाजिर भएका थिए । महरा भ्रष्टाचार मुद्दामा जारी भएको म्याद बुझेर बयानमा उपस्थित भएका थिए । अहिले धरौटी रकम बुझाउने तयारी भइरहेको छ ।

विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख महरा, भन्सारका कर्मचारी र एजेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दुबईबाट ‘फ्लाई दुबई’को उडान (एफजेड ०५८७)मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेपभित्र बहुमूल्य सुन लुकाएर ल्याएको आरोपमा महरा पनि मुछिएका छन् ।


प्रतिकृया दिनुहोस्