
काठमाडौं, जेष्ठ ९- काठमाडौं महानगरपालिकाले बौद्ध महांकालमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयलाई कक्षा ११ मा विज्ञान विषय सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ।
महानगरपालिकाको शिक्षा विभागद्वारा जारी पत्रअनुसार नगर शिक्षा समितिको २०८२ चैत ९ गते बसेको बैठकको निर्णयका आधारमा विद्यालयलाई शैक्षिक सत्र २०८३ देखि माध्यमिक तह अन्तर्गत विज्ञान संकाय सञ्चालन गर्न स्वीकृति दिइएको हो।
महानगरपालिकाले विद्यालयलाई प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार तोकिएका सबै सर्त तथा बन्देज पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिएको छ। उक्त निर्णयको जानकारी राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ६ तथा महानगरको वित्त विभागलाई समेत बोधार्थ पठाइएको शिक्षा विभागले जनाएको छ।
यो अनुमति प्राप्त भएसँगै बौद्ध क्षेत्रका विद्यार्थीलाई स्थानीय स्तरमै विज्ञान शिक्षा अध्ययनको थप अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ। यसअघि व्यस्थापन, मानविकी, शिक्षा तथा कानुन बिषयको अध्यापन हुदै आएको थियो । यो सँगै यस वर्ष देखि जनकल्याण मा.वि मा बिज्ञान बिषयमा समेत विद्याथीहरुले अध्ययन गर्न पाउने छन् । जनकल्याण, काठमाडौं महानगरपालिकाको नमुना सामुदायीक विद्यालय मध्येको एक हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर- ६, बौद्ध महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालय, चाबहिलको चुच्चेपाटीबाट महांकाल सडकमा अवस्थीत छ ।
यो विद्यालय करिब तीन रोपनी जमिनमा फैलिएको छ। अहिले यो विद्यालयमा २७०० विद्यार्थी अध्ययनरत छन् ।
































