
काठमाडौं, वैशाख १७- स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्ने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाले अनुसन्धानमूलक जर्नल प्रकाशन प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले ‘कागेश्वरी मनोहरा जर्नल (भाग १)’ प्रकाशन गर्नका निम्ति सरोकारवाला पक्षसँगअन्तरक्रिया गरेको छ ।
यो जर्नल कोटेश्वर बहुमुखी क्याम्पस सँगको सहकार्यमा प्रकाशन हुने जनाइएको छ। नगरपालिकाको सभाहलमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, वडा अध्यक्षहरु, नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो भने कोटेश्वर बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल सहितको टोलीले सहभागीता जनाएको ।
अन्तरक्रिया कार्यक्रम पश्चात ‘कागेश्वरी मनोहरा जर्नल (भाग १)’ का लागि अनुसन्धानमूलक लेख आह्वान गरिएको छ।
नगरपालिकाको अनुसन्धान तथा विकास शाखाका अनुसार जर्नल बहुविषयक तथा विज्ञ–समीक्षित (peer-reviewed) हुने र यसमा कागेश्वरी मनोहरा क्षेत्रसँग सम्बन्धित आर्थिक, सामाजिक तथा वातावरणीय विषयमा आधारित अनुसन्धान लेखहरू समेटिनेछन्।
जर्नलमा समावेश हुने लेख नेपाली वा अङ्ग्रेजी भाषामा पेश गर्न सकिनेछ भने अनुसन्धान नैतिकता र तोकिएका मापदण्डअनुसार तयार गरिएको हुनुपर्नेछ। जर्नल प्रकाशनका लागि यसअघि नगरपालिका र क्याम्पसबिच समझदारीपत्र (MoU) मा हस्ताक्षर भइसकेको छ।
जर्नल प्रकाशनलाई व्यवस्थित बनाउन क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारीको नेतृत्वमा कार्यसमिति समेत गठन गरिएको छ।
जर्नलमा कम्तीमा १० वटा अनुसन्धानमूलक लेख समावेश गरिने लक्ष्य राखिएको छ। नगरपालिकाले यसलाई स्थानीय समस्या पहिचान तथा समाधानमा सहयोग पुर्याउने, ज्ञान आदान–प्रदान प्रवर्द्धन गर्ने तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।
अनुसन्धानमूलक लेख पेश गर्ने अन्तिम मिति वैशाख २३ गते तोकिएको छ। इच्छुक अनुसन्धानकर्ताले आफ्नो लेख [email protected] मा पठाउन सक्नेछन् भने विस्तृत जानकारी नगरपालिकाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
लेख तयार गर्दा निम्न कुरामा ध्यान दिनुपर्नेछ :
जर्नलका लागि लेख तयार गर्दा मौलिकता अनिवार्य रहनेछ र अन्यत्र प्रकाशित वा प्रकाशनका लागि पठाइएका लेखहरू स्वीकार गरिने छैनन्। लेखको शब्दसीमा (सन्दर्भसूचीबाहेक) ४,००० देखि ५,००० शब्दसम्म निर्धारण गरिएको छ भने अधिकतम १२० शब्दको लेखसार र ३ देखि ५ वटा शब्दकुञ्जी समावेश गर्नुपर्नेछ।
त्यस्तै, लेखमा शीर्षक, लेखसार, शब्दकुञ्जी, विषयपरिचय, पूर्वकार्यको समीक्षा, अध्ययन विधि, नतिजा तथा विमर्श, निष्कर्ष र सन्दर्भसूची समावेश हुनुपर्नेछ। उद्धरण तथा सन्दर्भका लागि APA (7th Edition) शैली अवलम्बन गर्नुपर्ने जनाइएको छ।
लेखहरू डिजिटल ढाँचामा (MS Word) तोकिएको समयसीमाभित्र पेश गर्नुपर्नेछ। साथै, लेखकले आफ्नो संक्षिप्त परिचयसहित शैक्षिक तथा पेशागत विवरण, संस्थागत आबद्धता, इमेल र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ।
सबै लेखहरू दोहोरो अपरिचित (Double-blind) विज्ञसमीक्षा प्रक्रियामार्फत मूल्याङ्कन गरिनेछ। प्राप्त सुझावअनुसार संशोधन गर्नुपर्ने व्यवस्था रहेको छ भने लेख स्वीकृत, अस्वीकृत वा परिमार्जनसम्बन्धी अन्तिम निर्णय सम्पादक मण्डलले गर्नेछ।
नगरपालिकाले लेखमा व्यक्त विचार र तर्कहरू लेखककै व्यक्तिगत हुने स्पष्ट पार्दै प्रकाशनसम्बन्धी कुनै कानुनी वा नैतिक जिम्मेवारी लेखक स्वयंमा निहित रहने जनाएको छ। आवश्यक परेमा नैतिक स्वीकृति (Ethical approval) समेत अनिवार्य हुने बताइएको छ।
















