काठमाडौं । दसैंको समयमा घर फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै सरकारले देशभर सार्वजनिक सवारीसाधनका लागि अस्थायी रूपमा रुट परमिट खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागले मंगलबार सरोकारवालासँग छलफल गर्दै घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला राख्ने निर्णय गरेको हो। यस वर्ष घटस्थापना असोज २५ गते परेको छ।
यसअघि विभागले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। रुट परमिट खुला भएसँगै दसैंका लागि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।
तर, सडकको अवस्था वा अन्य विशेष कारणले निश्चित मार्गमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएका आकार वा प्रकारका सवारीसाधनमा भने उक्त बन्देज यथावत् रहने विभागले जनाएको छ।































