काठमाडौं । सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढेको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतका लागि सिफारिश गरेको हो।
परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको छ।
सिफारिशमा परेका पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजलासमा कार्यरत छन् भने सारू उच्च अदालत पाटनमा न्यायाधीश छन्। डाँगी भने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए।
अब चारै जनाको संसदीय सुनुवाइ हुनेछ। सुनुवाइबाट अनुमोदन भएपछि उनीहरूको सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
सर्वोच्च अदालतमा कुल २१ न्यायाधीशको दरबन्दी रहे पनि हाल १७ जना मात्रै कार्यरत छन्। चार जनाको सिफारिशसँगै सबै दरबन्दी पूर्ति हुने अवस्था बनेको छ।































