काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पौडेलले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। उनले सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउन आफूले महामन्त्री पदमा निरन्तरता खोजेको यसअघि नै बताएका थिए।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ता भइरहेको छ। जारी महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गर्दै महामन्त्रीको संख्या तीन पुर्याइएको छ। तीनमध्ये एक पदमा महिला महामन्त्री अनिवार्य हुने व्यवस्था गरिएको छ।
पौडेल यसअघि विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। यसपटक भने उनले खुलातर्फबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्दै छन्।
खुलातर्फ महामन्त्री पदका लागि पौडेलसँगै गुरुराज घिमिरे, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनीलकुमार शर्मालगायत नेताहरूले पनि आकांक्षा देखाएका छन्।































