
२२ असार, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित एकै परिवारका तीन जना घाइते भएका छन्।
स्थानीय सुने पार्कीको दुईतल्ले घर भत्किँदा उनकी बुहारी र दुई छोरी घाइते भएका हुन्।
घाइते हुनेहरूमा पार्कीकी २२ वर्षीया बुहारी प्रिया पार्की, १८ वर्षीया छोरी मनिषा र १३ वर्षीया छोरी चाँदनी छिन्। बुहारी पार्की आठ महिनाकी गर्भवती रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाका अनुसार घाइतेमध्ये गर्भवती प्रियाको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ। ढुङ्गा र माटोले जोडिएको दुईतल्ले कच्ची घरको मुख्य निधाल (काठको खम्बा) अचानक भाँचिएर घर भत्किएको प्रहरीले जनाएको छ।
घटना लगतै इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।






























