
८ जेठ, काठमाडौं । मलेसियालाई दुवै खेलमा पराजित गर्दै नेपालले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला जितेको छ ।
श्रृंखला अन्तर्गत नेपालले आज दोस्रो खेलमा पनि मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
यसअघि गत मे २० मा भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले पराजित गरेको थियो ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट रंगशालामा ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा पूरा गर्यो ।
नेपालको जितमा अविजित रहेकी सम्झना खड्काले ३९ रन बनाइन् । सम्झनाले ३७ बलमा तीन चौका प्रहार गरिन् ।
कविता कुँवरले १९ रन बनाउँदा सोनी पाख्रिनले १२ रन बनाइन् । मलेसियाका नुर डानिया स्युुहाडा, आइसा एलिसा र आइना हशिमले समान एक विकेट लिए ।
त्यसअघि, पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले नेपालविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल खडा गरेको थियो । मलेसियाका ओपनर आइना हशिमले १७ रन बनाइन् ।
धनुश्री मुहूनानले १५ र नुर एरिएना नाट्स्याचले १३ रन बनाइन् । नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई विकेट लिए । पूजा महतो र सीता मगरले समान एक विकेट लिइन् ।
नेपालले एसियन गेम्सको छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा मलेसियाको टिमसँग शृंखला खेलेको हो ।













