काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा चितवन प्लेअफमा पुगिसकेको अवस्थामा मैदान उत्रिनेछ। अंकतालिकाको चौथो स्थानमा रहेको चितवनसँग भिड्न लागेको कर्णाली भने सातौँ स्थानमा छ।
त्यस्तै, आजै दिउँसो ४ः३० बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ। काठमाडौं पनि प्लेअफमा स्थान पक्का गर्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ।
आजका दुवै खेलले अंकतालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। साथै प्लेअफमा पुगिसकेका टोलीको स्थान र आगामी प्रतिस्पर्धाको अवस्था पनि थप स्पष्ट हुनेछ।

























