
४ जेठ, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको छ।
यो जितसँगै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले समान २२ अंक बनाएको नामिबियालाई रन रेटले पछाडि पारेको हो । २२ अंक जोडेको नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ ।
टोलीको दुई खेल भने रद्द भएको थियो । नेपालले पाँचौँ स्थानमा उक्लने क्रममा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्ड प्रस्तुत गरेको १९५ रनको लक्ष्य ३८।१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय पारी खेले ।
रोहितले ९८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले । इशानले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । इशानले दोस्रो विकेटको निम्ति ओपनर कुशल भुर्तेलसँग १०४ रनको शतकीय साझेदारी गरे । ओपनर आशिफ शेखले २९ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।
यी दुईले पहिलो विकेटको निम्ति ५८ रनको अर्धशतकीय साझेदारी गरेका थिए । स्कटल्याण्डका मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमुलेनले एक विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको स्कटल्याण्डले घरेलु टोलीविरुद्ध ३९।१ ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल खडा गरेको थियो ।
स्कटल्याण्डका निम्ति ब्रान्डन म्याकमुलेनले ७३ रनको अर्धशतकीय पारी खेले । म्याकमुलेनले ४४ बलमा समान ६ चौका र छक्का प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए । अविजित रहेका माइकल इंग्लिसले ५१ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।
इंग्लिसले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओपनर जजर्म मुन्सीले २१ रन जोडे । मार्क वाटले २० रन बनाउँदा कप्तान रिचि बेरिंगटनसँग १२ रन बनाए । नेपालका निम्ति ललित राजवंशीले चार विकेट लिए । सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।
पराजित स्कटल्याण्ड भने हारका बाबजुद ३८ अंकका साथ शीर्ष स्थानमा कायम छ । स्कटल्याण्डले ३१ खेलमा १६ जित र नौ हार व्यहोरेको छ । टोलीको ६ खेल भने रद्द भएको थियो ।












