
४ जेठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई १९४ रनमै अल आउट गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले ३९.१ ओभरमा १९४ रन बनाउँदा अल आउट गरेको हो ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले १–१ विकेट लिए ।
नेपालको कसिलो बलिङअघि स्कटल्यान्डका ब्याटर टिक्न सकेनन् । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३ र मिचेल इङ्लिसले ५१ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जारी त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्यान्डबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा स्कटल्यान्ड विजयी भएको थियो ।












