Skip

Hamro Sanchar

अमेरिकाविरुद्ध सन्दीपको शतक : अमेरिकालाई २६५ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । सन्दीप जोराको शतकप्रेरित नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकासमक्ष २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनाएको हो ।

नेपाल ‘ए’का सन्दीपले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई र शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उयुगरकरले समान एक विकेट लिए।

शृंखलामा नेपाल ‘ए’ र अमेरिका दोस्रोपटक प्रतिस्पर्धा गरिरहेका छन् । अघिल्लो भेटमा नेपाल ‘ए’ तीन विकेटले विजयी भएको थियो ।

नेपाल ‘ए’ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल ‘ए’ले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई डीएलएसका आधारमा नौ रनले हराएको थियो ।


प्रतिकृया दिनुहोस्