Skip

Hamro Sanchar

आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ बैशाख, काठमाडौं । रुविना क्षेत्रीले उत्कृष्ट बलिङप्रेरित नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)महिला च्यालेन्ज ट्रफीमा पहिलो जित निकालेको छ ।

आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गर्दै ट्रफीमा जितको खाता खोलेको हो । प्रतियोगितामा खराब सुरुआत गरेको नेपाल यसअघि सम्पन्न पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।

आइतबार रुवान्डाको गाहांगा क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको इटाली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटियो ।

इटालीलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले सर्वाधिक चार विकेट लिइन् । २.४ ओभर बलिङ गरेकी रुविनाले एक मेडन ओभर फ्याक्दै चार रन खर्चिइन् ।

कविता कुँवरले दुई विकेट लिँदा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान एक विकेट लिए

इटालीका थिलिनी फर्नान्डोले २२ रन बनाउँदा पसिन्दी कानान्गेले १२ रन बनाए । यी दुईबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोडन सकेनन् ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको नेपालले इटालीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११२ रनको योगफल खडा गरेको थियो ।

नेपालका निम्ति पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । अविजित रहेकी पूजाले ४५ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् ।

सम्झना खड्काले १६, विन्दु रावलले १५ र कप्तान इन्दु वर्माले १० रन बनाइन् ।

इटालीका निम्ति इमिलिया वार्टरामले तीन विकेट लिइन् । थिलिनी फर्नान्डो, पसिन्दी कानन्केगे, लिनिया सिम्स, एलेक्सीया कोन्टोपिराकीसल, कुमूण्डु पेड्रिकले समान एक विकेट लिए ।

इटालीको भने यो प्रतियोगिताको पहिलो हार हो । इटालीले यसअघि भएको पहिलो खेलमा डएिलएलस प्रणालीको आधारमा १६ रनको जित निकालेको थियो ।


प्रतिकृया दिनुहोस्