
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप क्रिकेटको उपाधि आयोजक भारतले जितेको छ ।
नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारत च्याम्पियन बनेको हो । यससँगै भारतले लगातार दोस्रोपटक उपाधि जितेको छ । यसअघिको संस्करणमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।
साथै, भारत टी-२० विश्वकप जित्ने पहिलो आयोजक राष्ट्र पनि बनेको छ । यसअघि भएका कुनै पनि संस्करणमा आयोजक टोलीले उपाधि जित्न सकेका थिएनन् ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा अलआउट हुँदै १५९ रनमा रोकियो ।न्युजिल्यान्डका लागि ओपनर टिम शिफर्टले अर्धशतक बनाए । उनले २६ बलमा २ चौका र ५ छक्कासहित ५२ रन जोडे । अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि जसप्रित बुमराहले चार तथा अक्षर पटेलले तीन विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको भारतले पूरा ओभर खेलेर ५ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।
भारतका लागि सञ्जु स्यामसन र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाए । उनीहरूले पावर प्लेमा ९२ रन जोडे । पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दा स्यामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित ८९ रन जोडे । शर्माले २१ बलमै ६ चौका र ३ छक्कासहित ५२ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान किशनले पनि अर्धशतक पारी खेले । उनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन जोडे ।
यस्तै, हार्दिक पाण्डेयले १८, तिलक बर्माले ८ रन बनाए । शिभम दुबेको २६ नाममा रन रह्यो । कप्तान सूर्यकुमार यादव भने डकआउट हुन पुगे ।
न्युजिल्यान्डका लागि भने जेम्स निशमले एकै ओभरमा तीन विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रको नाममा एक-एक विकेट रह्यो ।













