Skip

Hamro Sanchar

आरजु राणा कैलाली–५ बाट सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


काठमाडौं । कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् ।

नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो ।

राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए । कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर बड सिफारिस भएका छन् ।

“हामीले क्षेत्रीय कार्यासमितिको सर्वसम्मत निर्णयबाट चारजनाको नाम प्रतिनिधिसभामा र तीन जनाको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका छौं,” पडालले बाह्रखरीसँग भने, “अब केन्द्रले उमेदवार छानेर पठाउनेछ ।”

उनले राष्ट्रियसभा सदस्यका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सर्वसम्मत सिफारिस गरिएको बताए ।

आरजु २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही निर्वाचन क्षेत्रमा पराजित भएकी थिइन् । त्यसबेला उनलाई एमालेका नारदमुनी रानाले पराजित गरेका थिए ।

०७९को निर्वाचनमा भने आरजु समानुपातिकबाट सांसद भएकी थिइन् । कांग्रेसले अघिल्लोपटक समानुपातिक तर्फबाट निर्वाचितहरूलाई यसपटक समानुपातिकमा नराख्ने निर्णयसहितको परिपत्र गरेपछि उनी प्रत्यक्षतर्फको पहिलो नम्बरमा सिफारिस भएकी हुन् ।


प्रतिकृया दिनुहोस्