
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच-दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् ।
बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको छ । नागरिकले सेवाप्राप्त गर्ने प्रक्रिया पनि त्यति नै सहज र व्यवस्थित छ । सेवाग्राहीहरु कार्यालयको मूल ढोकाबाट भित्र पस्नेवित्तिकै एउटै टेवलबाट सबै किसिमका सेवाहरु प्राप्त गर्छन् ।
नगरपालिकाले नयाँ बर्षको सुरुवातबाटै अर्थात् मंगलबारबाट एकीकृत सेवा केन्द्रको सुरुवात गरेको छ । सेवाग्राहीले प्रशासन तथा जनशक्ति ब्यबस्थापन शाखा, सोधपुछ तथा दर्ता चलानी कक्ष, आर्थिक प्रशासन शाखा, कृषि विकास उपशाखा, सामाजिक सुरक्षा तथा पंजीकरण शाखा, महिला बालबालिका तथा समाज कल्याण शाखा, योजना तथा अनुगमन शाखा, भवन निर्माण तथा बस्ती विकास शाखा, रोजगार सेवा केन्द्र, स्वास्थ्य शाखा, राजश्व शाखा, सहकारी शाखा र ब्यायिक समिति (उजुरी लिने) गरि १३ वटा (सेवाग्राहीको भिड हुने शाखा) शाखाले प्रदान गर्ने सेवाहरु एउटै टेवलबाट प्रदान हुनेछ ।
बसीबसी एकै ठाउँबाट सेवा लिन पाएपछि सेवाग्राही खुशि भएर फर्किने गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भएका कमल चौलागाई एकै ठाउँबाट नगरप्रमुखको स्वीकृति, प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति, दर्ता, चलानी लगायतका काम सम्पन्न हुँदा ‘गाउँ-गाउँमा सिंहदरबार’को नारा सार्थक भएको बताउछन् ।
यस्तै घर निर्माण सम्पन्नको प्रमाणपत्र लिन मुलपानीबाट पुगेका राजन फुयाल एकै स्थानबाट सेवा पाउँदा खुसी व्यक्त गर्छन् । उनले यसअघि एउटै कामका लागि कोठा-कोठा चाहार्नुपर्ने अन्योलता र झन्झटको अन्त्य गरेकोमा नगरपालिकालाई धन्यवाद दिए ।
एकीकृत सेवाप्रवाह केन्द्रबाट सेवा दिन थालेपछि सेवाग्राहीसँगै नगरपालिकालाई समेत सहज भएको छ । नगरपालिकाले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी एकीकृत सेवा केन्द्र विस्तार गरेको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री तुल्याउन मंगलबारबाटै सुरु भएको प्रमुख कार्कीले बताए । जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तहमा एकीकृत सेवा प्रवाह एकदमै महत्वपूर्ण रहेको प्रमुख कार्कीको भनाई छ ।
संघीयतापछि धेरै प्रकारका सेवा स्थानीय तहबाटै दिने व्यवस्था छ । तर सेवा प्राप्त गर्ने झण्झटिलो प्रक्रियाका कारण नागरिकमा असुन्तुष्टि बढेको छ । त्यसैले एकीकृत सेवा दिएर नागरिकमा सन्तुष्टि प्रदान गर्ने कार्यको थालनी गरेको प्रमुख कार्कीले बताए ।
सेवा केन्द्र सुरु भएपछि सेवाग्राहीलाई सहजता भएको नगर उपप्रमुख शान्ता थापाले बताइन् । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको उनले बताइन् ।
एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योलता, झन्झट हुन छाडेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनकाअनुसार सेवा केन्द्रबाट बिहान १० बजेदेखि साँढे १ बजेसम्म सेवा प्रदान हुनेछ भने त्यसपछि कार्यालय समयावधिभर कार्यकक्षबाट सेवा प्रदान हुनेछ ।