काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई भेटेका छन् ।
बालुवाटारमा आज ब्रेकफास्टसहितको भेटघाटमा प्रधानमन्त्रीले करिब २ घण्टा बिताएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले, खेल प्रशिक्षक एवं खेलाडीबीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताएका थिए ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख दिने निर्णय गरिसकेको जानकारी गराए । उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प पनि गरेका छन्।
प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टीमको प्रशंसा गरेको स्मरण गरे । विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टीमको सम्भावना लुकेको उनको भनाइ छ।