१९ असाेज, काठमाडौं । सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा २ जना मजदुरको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।
बागलुङको निसीखोला–३ बोहोरागाउँमा सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकमा जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो।
घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उद्धारपछि उनलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।































