
बागलुङ । तीन दिनदेखि पहिरोमा बेपत्ता एक बालिकाको शव भेटिएको छ । मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा खसेको पहिरोमा बेपत्ता भएकी ७ वर्षीया मधु बुढाको शव भेटिएको प्रहरीले बतायो ।
घटनामा अझै २ बालक बेपत्ता छन् । १० वर्षका मनोज बुढा, र ११ वर्षको सुमन थापा अझै हराइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनीहरूको खोजी र उद्दारका लागि नेपाली सेनाको श्रीमेहर गण, सशस्त्र प्रहरी बल र प्रहरीको थप टोली घटनास्थलमा परिचालन भइरहेको छ ।
बुधबार बिहान ३ वर्षीय आरुष थापाको शव भेटिएको थियो । अहिलेसम्म उक्त घटनामा १० जनाको मृत्यु भइसकेको छ । पहिरोमा गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । एकजनालाई पोखरास्थित मणिपाल अस्पताल र बाँकी घाइते ९ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको हो।
मृतकहरुको बुधबार दिउँसो घटनास्थलमै पुगेर पोष्टमार्टम गरिएको छ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा। छितिज रिजाल नेतृत्व टोलीले पोष्टमार्टम गरेको हो


















