धनगढी, साउन २०- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।
कांग्रेस र एमाले सांसदहरूको समर्थनमा शाहले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाहले दाबी पेस गरेका हुन् ।
शाह एमालेको समर्थनमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि अलपमतमा परेका उनले गत चैत २२ चैत राजीनामा दिएका थिए ।
यसअघि कांग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएका थिए ।