Hamro Sanchar

प्रचण्ड, रवि लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ : प्रदीप ज्ञवाली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ६ गते


Advertisement

काठमाडौं, साउन ६- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन् । एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको ‘पुष्पलालको दृष्टिकोण र नेपालको समृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गरिरहँदा किन फाइल नखोलिएको भनी प्रश्न गरे ।

‘१९ महिना निरन्तर सरकारको नेतृत्व गरिरहनुभएका पुष्पकमल दाहाल प्रचण्डलाई कसले रोकेको थियो फाइल खोल्न ? फाइल रोक्न कसले दबाब दिएको थियो  ? कसले उहाँको आँखामा कालोपट्टी बाँधिदिएको थियो,’ उनले भने । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामेछानेलाई पनि चर्को कुरा नगर्न सुझाव दिए । दुईपटक गरी ६ महिना गृहमन्त्री भएका बेला लामिछानेद्वारा फाइल किन खोलिएन भनेर पनि उनले प्रश्न गरे ।

रविकै पार्टीबाट उपसभामुख रहेकी इन्दिरा रानाले संसद् सचिवालय र परराष्ट्र मन्त्रालयलाई थाहै नदिई कूटनीतिक पत्र लेखेको स्मरण गराउँदै उनले बरु फाइल त ‘प्रचण्ड र लामिछाने’हरूको खोल्ने बेला आएको बताए । ‘हामीले फाइल खोल्न आँटेपछि कांग्रेस–एमाले मिलेको भनेर हल्ला चलाउनुभएको छ,’ उनले भने, ‘बरु फाइल त उहाँहरूको खोल्ने बेला आएको छ।’ आफूभित्रको कमजोरी सच्याएर अघि बढ्न माओवादी केन्द्र र रास्वपालाई उनले सुझाव पनि दिए।

उपमहासचिव ज्ञवालीले अहिलेको परिवर्तनको कारक माओवादी केन्द्र र त्यसमा पनि उक्त पार्टीका अध्यक्ष प्रचण्ड नै भएको जिकिर गरे । प्रचण्डले निम्त्याएको अस्थिरतालाई रोक्ने प्रयासस्वरूप कांग्रेस–एमालेले सहकार्य गर्नुपर्ने वातावरण सिर्जना भएको उनको भनाइ थियो । जनादेशबाट बनेको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट विस्थापन गरेर २०७८ असार २८ गते मुलुकलाई अत्यन्तै गलत दिशामा लगिएको र त्यसपछि राजनीति भद्रगोल भएर नेपाल पश्चगमनको बाटोमा गएको उनले बताए । तीन वर्षपछि गत असार २८ गते कांग्रेस–एमाले मिलेर त्यसलाई ठिक ठाउँमा ल्याइएको उनले स्पष्ट पारे ।


प्रतिकृया दिनुहोस्