
काठमाडौं, वैशाख ३१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ ।
प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन छन् ।
कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौं ओर्लिएका थिए ।
नियमित चेकजाँचको क्रममा शंकास्पद देखिएपछि प्रहरीले कुमार र गणेशनका कपडाहरू हेरेको थियो ।
उनीहरूको कपडा जाँच गर्नेक्रममा सुनका लेपन लगाइएको फेला पारेको कार्यालय प्रमुख एसएसपी पोखरेलले बताए ।
पक्राउ परेका दुबै जनाबाट बरामद भएको सुन जोखिसकेको छैन ।
यद्यपि कुमारले लगाएको टिसर्ट, भित्री बस्त्र, जिन्स पाइन्ट लगायत कपडासहित सुन अन्दाजी दुई किलो ६०० ग्राम छ ।
गणेशनले लगाएको टिसर्ट, पेन्टी, जिन्स पाइन्ट कपडासहित सुन अन्दाजी दुई किलो ५०० ग्राम छ ।
एसएसपी पोखरेलका अनुसार यसरी बरामद भएको सुन र अभियुक्तमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने गरिएको छ ।
यसरी सुन जोख्ने कामका लागि भन्सार कार्यालयले नेपाल राष्ट्र बैंकमा पठाउने गरेको छ ।
त्यसपछि बरामद भएको सुनको यकिन विवरण खुल्छ । अहिले बरामद भएका सुनमा बढीमा एक किलो हुन सक्ने प्रहरीको भनाइ छ ।
जसको मूल्य ८ करोड २३ लाख १७ हजार ६३२ रुपैयाँ बराबरको छ। वैशाख ७ गतेपछि पनि प्रहरीले सुन बरामद गरेको छ।
माघ १७ गते प्रहरीले १५ ग्राम सुन बरामद गरेको थियो। फागुन १० गते २२१० ग्राम सुन बरामद गरेको थियो। फागुन १२ गते नै प्रहरीले १४४० ग्राम सुन बरामद गरेको थियो। त्यसपछि थोरै मात्रामा सुन बरामद गरेको थियो। गत वैशाख ६ गते भने १०७० ग्राम सुन बरामद गरेको थियो।
वैशाख ७ गते पनि प्रहरीले ८५० ग्राम सुन बरामद गरेको थियो।


















